You are here

हिजोसम्मकी सामाजिक परिचालक, आजदेखि उपमेयर

Submitted on: Thu, 05/25/2017 - 11:54

माडी, ७ जेठ– चितवनको माडी नगरपालिकामा माओवादी, कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा थियो । कांग्रेसका उम्मेदवारलाई ४४ मतले पछि पार्दै माओवादीका ठाकुरप्रसाद ढकाल मेयरमा बिजयी भएका थिए । उनीसँगै उपमेयरमा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छिन् । उनले ४६९० मत ल्याइन्, जुन निर्वाचित मेयरका उम्मेदवार भन्दा धेरै लोकप्रिय मत हो । 

माडी चितवनमा अहिले ब्यवस्था गरिएका स्थानीय तह मध्ये सबैभन्दा सानो नगरपालिका भए पनि यसको चर्चा देशब्यापी हुने गर्छ । यो चर्चाको कारण भने निर्वाचन वा उम्मेदवारी नभएर माओवादी शान्ति प्रक्रियामा आउनासाथ उसले गरेको हत्याकाण्ड हो । ०६२ साल जेठमा चितवनको माडीमा सर्वसाधारण चढेको बसलाई लक्षित गरी माओवादीले बम बिष्फोट गराउँदा धेरै निर्दाेष नागरिकले ज्यान गुमाए । यस पटकको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले मेयर जितेपछि कतिपयले उक्त काण्डलाई जनताको मतले अनुमोदन गरेको पनि ठाने ।

त्रिपक्षीय प्रतिस्पर्धामा ४४ मतको अन्तर सहितको बिजय माओवादीका निम्ति सान्त्वनाको विषय हुन सक्छ तर, यसलाई माडी हत्याकाण्डको अनुमोदन ठान्नु ठूलो भुल हुनेछ । मेयरतर्फ ठाकुर ढकालले ३८७३ मत प्राप्त गरे जव कि उपमेयरतर्फ एमालेकी उम्मेदवार महतोले ४६९० मत प्राप्त गरिन् । यदि ठाकुरलाई प्राप्त मत माडी घटनाको अनुमोदन हो भने एमालेले प्राप्त गरेको उपमेयर तर्फको मतलाई के भन्ने ? 

लामो समयदेखि एमालेको साधारण सदस्य मात्र भएर बसेकी ताराकुमारी एमालेका हरेक गतिविधिमा नगरभित्र सामेल भएपछि जिल्ला नेतृत्वले पत्याएर उनलाई उपमेयरको टिकट दिएको हो । चुनाव लड्नु अघिसम्म उनी नगरपालिकामै सामाजिक परिचालक थिइन् । करिव ८ वर्ष नगरपालिकामा काम गर्दा माडीका प्रत्येक जनताको घर टेक्ने मौका पाइन् उनले । 

महतोले उम्मेदवारी पाउने वितिक्कै उनलाई चिनाउन पार्टीले खासै मेहेनत गर्नु परेन । महतो उठ्नि भन्नासाथ गाउँ टोलमा उनको चिन्हको खोजी हुन थाल्यो । एमालेकी उम्मेदवार भएपछि उनलाई झन् सजिलो भयो । 

यसै पनि सामाजिक परिचालकले जनताको नजिक रहेर काम गर्नु पर्छ । त्यसमाथि लामो समय निर्वाचित प्रतिनिधि नहुँदा नागरिकले गुनासो गर्ने, काम गर्न अनुरोध गर्ने माध्यम धेरै स्थानीय तहमा सामाजिक परिचालकहरु थिए । यसले ताराकुमारीलाई चुनाव जित्न अवश्य सहयोग गर्यो । गाउँमा महिलाहरु विरामी पर्दा होस् वा सुत्केरी हुँदा, नागरिकता बनाउँदा होस् वा सिफरिस लिंदा, ताराकुमारीले कसैको वचन भुइामा खसन नपाउँदै काम फत्ते गरिदिन्थिन् । त्यसैले उनको गाउँबाट उपमेयरतर्फ लगभग सबै मत उनैलाई गयो । उम्मेदवारी घोषणा हुनासाथ टोलमा समुह बनाएर कसी मत हाल्ने भनी बुढापाकालाई शिक्षा दिने अभियान सुरु भयो । त्यसकारण उनको बाक्सामा खसेका मत खासै बदर पनि भएनन् । 

उनको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी सरिता महतो थिइन् । उनले ३८०४ मत मत ल्याइन् ।   मेयरमा माओबादी केन्द्रका ठाकुरप्रसाद ढकालले ३८७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए ।

मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेका एमालेका मेयर उम्मेदवार नारदमणि पौडेल अन्तिम नजितासम्म आइपुग्दा तेस्रो स्थानमा झरेका थिए । पौडेलको जीत निश्चित भएको अनुमान गरिएको थियो । ९ वटा वडा रहेको माडीमा एमालेले ३, ६, ७, ८ र ९ नम्बर वटा वडा जितेको छ । माओवादी केन्द्रले २ र ४ नम्बर वडामा जितेको छ । काग्रेसले  १ नम्बर वडामा जितेको छ । 

राप्रपाका पूर्वमन्त्री बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा उनको पार्टीले एक स्थान पनि ल्याउन सकेन । २१६७२ मतदाता रहेको यो नगरपालिकामा १६३७१ मत खसेको थियो ।

Courtesy: chakrapath.com