You are here

एक थुकी सुकी सयौ थुकी नदि- साब्रा भुल्के नागरिक सचेतना केन्द्र

Submitted on: Mon, 03/06/2017 - 12:55

साब्रा भुल्के बस्ति तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं.१ मा रहेको छ । २०६७ साल मंसिर देखि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रमवाट पिछडिएको साब्रा भुल्के बस्तिलाई छनौट गरि २०६७/१२/१० गते यो सचेतना केन्द्र स्थापना भई संचालनमा रहेको छ I जसमा दलित ३, जनजाती ५, अन्य १८ गरि जम्मा २६ घरधुरी आवद्ध छन । यस नागरिक सचेतना केन्द्रमा सबै जना सदस्यहरु महिला रहेका  छन् । उक्त सचेतना केन्द्रका सदस्यहरुको थोरै थोरै जग्गा भए पनि परंपरागत खेतीपाती गरेर जिविकोपार्जन गरिरहेका थिए । नागरिक सचेतना केन्द्र स्थापनाको समयमा उक्त वस्तीमा सरसफाई सम्बन्धि चेतनामा कमी¸ कुनै सदस्यको घरमा चर्पी नभएको¸ बालवालिकाहरुलाई विद्यालय पठाउने चेतना नभएको¸ खानेपानीको ब्यवस्था नभएको तथा कुनै सामाजिक संघ संस्थाहरुमा आवद्ध नभएको अवस्था थियो ।

नागरिक सचेतना केन्द्रको स्थापना पश्चात उक्त केन्द्रका महिला सदस्यहरुले नियमित रुपमा रिफ्लेक्ट कक्षावाट आर्थिक सामाजिक सचेतनात्मक ज्ञानहरु आर्जन गरे । उनीहरुले सरकारी कार्यालयहरुवाट पाइने सेवा सुविधा¸ वालवालिकाहरुलाई विद्यालय पठाउने¸ सरसफाई तथा चर्पी अनिवार्य वनाउनु पर्ने¸ वालवालिकाहरुको जन्मदर्ता तथा समयमै खोप लगाउनु पर्ने¸ गर्भवती आमाको स्याहार सुसार¸ फजुल खर्च नगर्ने¸ सामाजिक कुरितिहरु हटाउने र विभिन्न सामाजिक निकायहरुसंग समन्वय गर्ने जस्ता सचेतना प्राप्त गरे ।

उनीहरुकै पहलमा खुला दिशामुक्त क्षेत्र घोषणा,  खानेपानी, बालबच्चालाई पढाउनु पर्छ, खोप लगाउनु पर्छ भन्ने उनीहरुमा चेतना आयो ।  कुसंस्कार हटाउन  आफ्नै घरबाट सुरुवात गरे । तिहारमा देउसी भैलो कार्यक्रमबाट केही रकम उठाई उनिहरुको समुदायमा विवाह, भोज जस्ता  कार्यक्रमको लागि आवश्यक सामाग्री खरिद गरि भाडामा लगाई आफ्नो कोष संचालन गरि रहेका छन् । हाल उनीहरु खाजा बापत आएको रकम ड्रेस खरिद गरि लगाएका छन् । उनीहरुले नगरपालिका बन्न पुर्व र नगरपालिकामा आबद्ध भए पछि पनि परिषदबाट बर्ष पिच्छे विभिन्न कार्यक्रमहरुको लागि प्राप्त गरेको रकमले घुम्ति कोष संचालन गरेका छन् ।

महिला बिकास कार्यालयसंग समन्वय गरि सामुहिक बेमौसमी तरकारी खेति गर्नको लागि मिति २०७०/११/१० मा रु.२,००,०००।– रकम ३ बर्षको लागि निरव्याजी रकम फिर्ता गर्ने सर्तमा सो  कार्यालय अन्तरगत संचालन गरिएको देउराली महिला बहुउद्देशीय सहकारी संस्थाबाट  रकम प्राप्त गर्न सफल भएको । रकम प्राप्त गरिसके पछि यस नागरिक सचेतना केन्द्र ले जम्मा १५ रोपनी जग्गा वार्षिक आम्दानीको २२ प्रतिशत रकम जग्गावालालाई दिने शर्तमा जग्गा भाडामा  लिएको छ । उक्त रकम मध्ये रु ७५०००/- तरकारी खेतिमा लगानी गरेको र बाँकि रु १,२५,०००।– रुपैया ना.स.के.सदस्यहरुलाई  ऋण लगानी गरेको र गत २०७३/११/०१ मा सम्पूर्ण रकम देउराली महिला बहुउद्देशीय सहकारी संस्थालाई ससर्त फिर्ता गरि सकेको छन् ।

सामुहिक बेमौषमी तरकारी खेतिमा, बन्दा, काउली, मुला, मटरकोसा, गाजर, खुर्सानी, आलु जस्ता तरकारी लगाइएको र सदस्यहरुले आफु खटे अनुसार घण्टाको  हिसाबले आफै श्रम गरी श्रमको रकम लिने गरेका छन् । बार्षिक आम्दानी रु ४०००००/- सम्म हुने गरेको छ । खर्च कटाएर रु.३०००००/- केन्द्रमै बचत गर्ने गरेका छन् ।  जिल्ला कृषि बिकास कार्यालयबाट ३ वटा प्लास्टिक टनेल तथा प्राविधिक सहयोग प्राप्त गरेका छन् र अन्य २ वटा गैर सरकारी संस्थाहरुबाट तरकारी उत्पादन गर्न आवस्यक पर्ने बिउ बिजन, साना सिचाई (स्प्रिीङ्कल) जस्ता सहयोगहरु पनि प्राप्त गरेका छन् । यो ना.स.के ले सामुहिक बेमौषमी तरकारी खेतिबाट हालसम्म ३ वर्ष को अवधिभित्र जम्मा रु ७००००००/- खर्च कटाएर मुनाफा आर्जन गरिसकेको छ र सो रकम २६ जना सदस्य हरुलाई दामासाही रुपमा वितरण गरिसकेको छ । तरकारी खेतिबाट  प्राप्त मुनाफा ले सदस्यहरुले ना स केको पहिचानको लागि ड्रेस र सुनको जन्तर खरिद गरि लगाएका पनि छन् I स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट जीविकोपार्जन सुधार योजना अन्तरगत रु.१,००,०००।– प्राप्त  रकम घुम्तिकोषमा राखी आफ्ना सदस्यहरुलाई  बेमौषमी खेतिका लागि  ऋण उपलब्ध गराई रहेको छ यसै कार्यक्रमबाट सहयोग गरिएको साना पुर्वाधार अनुदान कार्यक्रम ( सी आई जी) अन्तरगत रु.३,१५,०००।–  बाट तरकारी संकलन केन्द्रको भवन निर्माण गरि यस नागरिक सचेतना केन्द्रले बजारीकरण लाई आवस्यकता पर्ने सामान खरिद, तरकारी संकलन र  धरान बजार तर्फ तरकारीको व्यापार गर्न थालेका छन् । गत वर्ष तरकारी संकलन केन्द्र उद्घाटन गर्दा लालीगुराँस नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाको भनाई  अनुसार “सरकारले खोजेको सामाजिक र आर्थिक परिवर्तन महिलाले देखाएको अनुभुति मैले साब्रा भुल्के ना.स.के.मा देखेको छु ।” लालीगुराँस नगरपालिका ले यस आ वको लागि यस नासके लाई पुन सामुहिक खेति  गर्न रु.५००००/- हजार र संकलन केन्द्रलाई  व्यवस्थित गर्न रु. रु.५००००/- गरि जम्मा १०००००/- रकम परिषद बाट विनियोजित गरि स्वीकृत गरेको छ । यस ना.स.के.मा साच्चे नै शुरुको अवस्थालाई र हालको अवस्था तुलना गर्दा अतुलनिय छ ।  

उनीहरुको लगनशिल र एकजुटता देखेर जिल्ला पशुसेवा केन्द्रले घुम्तिकोष बाख्रापालनका लागि अनुदान रकम रु.३०००००/- र आलु भण्डारण केन्द्र निर्माण गर्न  गरिबि निवारण कोषबाट रु.९०००००/- रकम प्राप्त गरि निर्माणाधिन अवस्थामा छ। यस ना.स.के. अहिले आफ्नो अधिकार र सेवा सुबिधा खोज्नका लागि बिभिन्न निकायमा पुगी सेवा र कार्यक्रम हरु प्राप्त गरिरहेका छन । यसले  देखाएको क्रियाशिलता बाट गाउँका अन्य महिलाहरु पनि लागि पर्न थालेका छन् । “हामी गाउँमा असंगठिक महिलाहरु समुहमा आवद्ध भै आफ्ना हकआधिकारहरुका ज्ञान प्राप्त गरि सामुहिक कार्य गर्ने अभ्यास गर्दै अहिले हामी सामाजिक र आर्थिक रुपान्तरण मा जुटेका छौ, एक्लै ले केहि हुन्न रहेछ, एक थुकी सुकी सयौ थुकी नदि” भन्नु हुन्छ  रेनुका खड्का, ना स के संयोजक ।