बागलुङ जिल्लाको सदरमुकाम बाट ४१ कि.मि. टाढा रहेको निरेठाँटी गा.वि.स. आर्थिक, सामाजिक, सास्कृतिक,राजनैतिक र भौतिक अवस्थाको आधारमा हेर्ने हो भने मध्यम गा.वि.स.को रुपमा रहेता पनि गा.वि.स. भित्र रहेका वडाहरुमा आर्थिक, सामाजिक र भौतिक विकासको दर भने एक समान रहेको पाइदैनन् । यस गा.वि.स.मा विभिन्न जातजातिहरुको बसोबास रहेको भएता पनि विशेष गरेर दलित र जनजातिको जनसंख्या बढी रहेको पाइन्छ ।
भौगोलिक आधारमा हेर्न हो भने सवै भन्दा ठूलोे तर आर्थिक, सामाजिक र भौतिक विकासमा अत्यन्तै पिछडिएको वडा न.५ को मसरा, बयली बस्तिमा दलित जनजातिहरुको बाहुल्यता रहेको छ । यस वडामा १२५ घरधुरी रहेकोमा मसरा र वयली बस्तिका ६० घरधुरी मध्ये बाट अति विपन्न र विपन्न परिवारका २६ घरधुरीलाई समेटेर रुपान्तरणीय सामाजिक परिचालन कार्यक्रम अन्तर्गत नागरिक सचेतना केन्द्र स्थापना गरिएको थियो । शुशिला पुन पनि यस नागरिक सचेतना केन्द्रको सदस्य बन्नु भयो ।
शुशिला घरको चुलोचौको, वनको घाँसदाउरा, मेलापात, फुर्सदको समयमा गफगाफ गरेरै दिन बिताउनु हुन्थ्यो । दिनरात मेहनत गरे पनि ६÷७ महिना भन्दा बढी खाना पुग्ने अवस्था थिएन । बाँकि समय खानाको लागि अर्काको ज्याला मजदुरी गर्नु पर्ने बाध्यता थियो । पेशा, व्यवशाय संचालन गर्नलाई पनि उनी सँग पैसा थिएन सरकारले उपलब्ध गराएको सेवा, सुविधाको बारेमा पनि उहाँलाई केहि जानकारी थिएन । उहाँ कुनै बैठक, भेलामा सहभागि हुने, छलफल गर्ने, योजना बनाउने जस्ता कामहरुमा पनि संलग्न हुनु हुदैन थियो । तर समयको परिवर्तनसँगै पूर्व क्षितिजबाट उदाएको स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रमका उषा किरणहरुले उनको जिवनमा उज्यालो छायो ।
सचेतना केन्द्र गठन पछि साप्ताहिक रुपमा रिफ्लेक्ट कक्षा संचालन हुन थाल्यो । शुरुका दिनहरुमा शुशिला रिफ्लेक्ट कक्षामा सहभागिहरु सहभागि हुन लाज मान्ने, सहभागि भैइ हाले पनि बोल्न नखोज्ने, आफ्नो नाम भन्न पनि अप्ठ्यारो मान्ने गर्नु हुन्थ्यो । सहजकर्ताको सहजिकरण शैली, रिफलेक्ट विधिबाट विषय वस्तुको छलफलले गर्दा उहाँलाई सिक्न सहज हुन थाले । सामाजिक परिचालकले निरन्तर रुपमा नागरिकको अधिकार, कर्तव्य, व्यक्तिगत घटनादर्ता र समसामयिक विषयमा गर्ने छलफलले गर्दा उहाँ आजभोलि सचेत बन्दै आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने हुनु भएको छ । हरेक बैठक र कार्यक्रममा उहाँ सक्रिय रुपमा सहभागी हुने, आफ्ना विचारहरु राख्ने गर्नु हुन्छ ।
रिफ्लेक्ट कक्षामा आयआर्जन बढाउन व्यवशायिक योजना निर्माण गर्ने तरिका, व्यवशायिक योजनको महत्वको विषयमा छलफल भए पछि उहाँ अझ थप उत्साहित हुनु भयो । व्यवशायिक योजनाको बारेमा थाहा पाए पछि उहाँले आफ्नो रुचि र क्षमता अनुसार तरकारी खेतिको योजना निर्माण गर्नु भयो । आफ्नो तरकारी खेति गर्ने योजना साकार पार्नको लागि उहाँ श्रोतको खोजि गर्न थाल्नु भयो । यसै क्रममा नागरिक सचेतना केन्द्रमा बार्षिक रुपमा सहगागिहरुको लागि चिया खर्च बापत आएको रु १५००० र कक्षा तथा बैठकमा अनुपस्थित हुने र ढिलो उपस्थित हुने सहभागिहरुबाट उठेको विलम्ब शुल्क वापतको रकम समेत जम्मा गरि कोष स्थापना गरिएको थियो । सवै दिदी बहिनीहरुसँग सल्लाह गरि सस्तो व्याज दरमा उहाँले यस कोषबाट केहि रकम र आफुँसँग भएको रकमबाट व्यवशाय शुरु गर्नु भयो । त्यस ठाउँमा तरकारी खेति गरि आय आर्जन गर्न सकिने राम्रो सम्भावना हुदा हुँदै पनि पानीको समस्याले गर्दा उहाँले यो व्यवशायलाई विस्तार गर्न सकिरहनु भएको थिएन । स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम अन्तर्गत जि.वि.स. बागलुङबाट नागरिक सचेतना केन्द्रका सदस्यहरुको आयआर्जन बढाउनको लागि साना भौतिक पुर्वाधार विकास कार्यक्रम सहयोग भएपछि उहाँ लगाएत अन्य २ जना छिमेकि मिलेर खेर गएको पानीलाई पानी संकलन ट्याङ्की निर्माण गरि तरकारी खेति विस्तार गर्ने योजना बनाउनु भयो । तर उहाँ सँग पूजिको अभावले गर्दा सोचे अनुसार सफलता पाउन सक्नु भएको थिएन । यसै क्रममा जीविकोपार्जन कार्यक्रम अन्तर्गत जि.वि.स. बागलुङले नागरिक सचेतना केन्द्रलाई घुम्तिकोषको लागि भनेर रु १००००० सहयोग भए पछि उहाँले नागरिक सचेतना केन्द्रका दिदी बहिनीहरुसँग आफुले तरकारी खेति विस्तार गर्न खोजेको तर पुँजि नभएको हुँदा विस्तार गर्न नसकेको दुखेसो सुनाउनु भयो । उहाँको काम प्रतिको लगाव, उहाँले नागरिक सचेतना केन्द्रमा निर्भाह गर्नु भएको भुमिकाबाट प्रभावित भएका दिदी बहिनीहरुले उहाँको माग बमोजिम उहाँलाई रु. ५०,००० व्यवशायिक तरकारी खेति गर्न न्युनतम व्याज दरमा लगानी गर्ने निर्णय गरे । यस पछि उहाँले २ वटा टनेल थप गरि तरकारी खेती गर्न थाल्नु भयो । उत्पादित तरकारी स्थानीय बजार नरेठाँटी तथा हटियामा सहज रुपमा विक्रि वितरण हुन थाल्यो । यस बाट उहाँले एक टनेलबाट कम्तिमा ५०,००० देखि ६०,००० हजार सम्म आम्दानी गर्न थाल्नु भयो । यसबाट उहाँको व्यवहार सहज रुपमा चल्न थाल्यो भने विदेशमा जानु भएको श्रीमान पनि नेपाल फर्कि उहाँलाई सगाउन थाल्नु भयो ।
यसै क्रममा एक दिन शुशिलाले रिफ्लेक्ट कक्षामा आफुले गरेको तरकारी खेतिको बारेमा सवै दिदी बहिनीलाई जानकारी दिदै भन्नु भयो । "मलाई हजुरहरु सवैले चिन्नु हुन्छ मेरो पहिलाको अवस्था कस्तो थियो र आज कस्तो छ त्यो पनि हजुरहरुलाई थाह नै छ । आज मेरो परिचय फेरीएको छ । पहिला पहिला मरो नाम कसैले पनि जान्दैनथे मेरो श्रीमानको नामले मात्र चिन्दथे तर आज मलाई सवै जनाले शुशिला भनेर चिन्दछन । मैले गरेको कामले गर्दा आज मलाई मेरा गाउँका सवै आमा–बुवा, दिदी–बहिनी, दाजु–भाई देखि लिएर बजारका साहुहरुले समेत चिन्न थालेका छन । मलाई आज गर्व लाग्छ कि सबैले मलाई शुशिला भनेर बोलाउँदा । त्यसैले म सवै दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने भगवानले पनि त आँट म पुर्याउछु भन्नु हुन्छ रे भने झै हामीले समय अनुसार कुनै पनि कामलाई ठुलो सानो नभनी निरन्तर रुपमा लागि पर्न सकेमा हामीहरु अवश्य नै सफल हुने रहेछौ यसले नै हामीलाई गाउँ, समाजमा परिचित पनि गराउने रहेछ । मलाई समाजमा परिचित गराउन सहयोग गर्ने नागरिक सचेतना केन्द्रलाई म हृदय देखि नै धेरै धेरै धन्याबाद दिन चाहान्छौ ।“
शुशिला जस्तै यस नागरिक सचेतना केन्द्रका अन्य सदस्यहरुले पनि कसैले बाख्रापालन, कसैले कुखुरापालन त फेरी कसैले तरकारी खेति गर्दै आईरहेका छन । व्यवशाय संचालन गर्नको लागि आवश्यक पँुजी उनीहरुले नागरिक सचेतना केन्द्रबाट पाउनुको साथै त्यसको उचित परिचालन गरी उनीहरुले स्थानीय स्तरमा नै व्यवशाय संचालन गर्न सकेका छन । जसले गर्दा एका तर्फ उनीहरुको आम्दानी बृद्धि भई जीवन स्तरमा सुधार हुन गएको छ भने अर्को तर्फ उहाँहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको छ । त्यसैले उनीहरु सबैले आजभोली भन्ने गरेका छन नागरिक सचेतना केन्द्र साच्चै हामी सवैलाई परिचित बनाउने थलो भएको छ ।
तारा पुन
सामाजिक परिचालक
नरेठाँटी गाउँ विकास समिती , बागलुङ